सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ । महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, वाङ याङ र हान झेनलाई बिदा दिएको छ ।
वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । २ सय ५ सदस्यीय केन्द्रीय कमिटी ११ जना मात्रै महिला रहेका छन् ।
केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।