२०८१ कार्तिक २२ , बिहिवार

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको छ : प्रमुख आयुक्त थपलिया

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्ने र किन पालना भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको भन्दै आचारसंहिताका सम्बन्धमा ७/१० दिन पछिको आयोगको निर्णयले भूकम्प आउने हो कि भनेर संशय गर्नुभएको छ ।

 

स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको बताउनुभयो ।

 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?’ ‘निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।’ उहाँले भन्नुभयो, ‘जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’