२०८१ कार्तिक २२ , बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो वायु सेवा निगमको दिल्ली उडान

सुनाखरी न्युज/ काठमाडौं ।
२ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए-२१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबार उडान रोकिदिएको निगमका उपनिर्देशक रमेश पौडेलले बताए ।

उनले प्राधिकरणले निगम र हिमालय एयरलायन्सलाई भैरहवाबाट पनि उडान सुरु गर्न भनेको तर आफूहरूले त्यहाँ यात्रु अभावका कारण तालिका नराखेकाले काठमाडौंमा दिउँसो सातै दिन दिल्लीका लागि हुँदै आएको उडानमा दुईवटा उडान प्राधिकरणले कटौती गरिदिएको पौडेलले बताए ।

उता विमानस्थलका महाप्रबन्धक ठाकुरले अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको बताए ।  उनका अनुसार आइतबारका लागि निगमले २ सय ७३ जना यात्रुलाई टिकट बिक्री गरिसकेको थियो । उनले बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रुहरू बोर्डिङ पास लिई सुरक्षा चेकमा गइसकेको बताए । बोर्डिङ पास लिइसकेका यात्रुले नाराबाजी गरिरहेको निगमको विमानस्थलमा रहेका एक अधिकृतले बताए ।

 

यस विषयमा जानकारी लिन सम्पर्क गर्दा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको फोन उठेन भने उनले एसएमएसको जवाफ पनि दिएनन् ।

उपनिर्देशक पौडेलेले भारतीय वायुसेवाहरूलाई सातामा २१ वटा उडान अनुमति दिँदै प्राधिकरणले निगमलाई डुबाउन र भारतीय वायुसेवालाई कसैको स्वार्थमा पोस्न खोजिएको आरोप लगाए । उनले व्यापार नहुने भैरहवामा जान नसकिने बताए ।