२०८१ पुष ९ , मंगलबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिंदै

सुनाखरी न्युज/ काठमाडौं । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिंदैछ । छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न हुनेछ ।

 

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । बर्तालुहरूले अर्घ्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गर्दछन् । अर्घ्य सामग्रीमा ठेकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।

 

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र लाभ हुने विश्वास समेत रहेको छ । सूर्य उपासनाबाट लाभ र आरोग्य प्राप्त हुने पनि विश्वास गरिन्छ । छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।