२०८१ आश्विन ७ , सोमवार

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

सुनाखरी न्युज/ काठमाडौं ।

यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।

बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६ः ३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः ११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।