सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो ।
‘मंसिरका लागि पनि बैंकहरुले कात्तिककै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय भएको छ,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने, ‘ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले मंसिरमा ब्याजदर स्थिर राखिएको हो ।’ पछिल्लो समय ब्याजदर बढी भयो भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । हाल भने निर्वाचनका लागि भन्दै आन्दोलन स्थगित गरेका छन् । यही समयमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने निर्णय गरेका छन् ।
६ महिनापछि गत असोजमा बैंकहरुले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशित गरेका बैंकहरुले मंसिरमा पनि सोही क्रमलाई निरन्तरता दिने भएका हुन् । जसअनुसार अब बैंकहरुले मंसिरका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । यो हालकै (कात्तिक महिना) बराबर हो । त्यस्तै मंसिरमा पनि एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम हुनेछ । व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिने बैंकले बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज दिनुपर्नेछ ।
गत चैतदेखि भदौसम्म वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।