सुनाखरी न्युज/ काठमाडौं । लामो समयदेखि गिरावट आइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकममा समेत वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले बढेर प्रतिकित्ता ३८८.४० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार तारागाउँ फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी हाइड्रोपावरको भएको छ । यसको आज १४ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।