२०८१ आश्विन ७ , सोमवार

महिनावारीको दुखाइ कम गर्न यी खानेकुराहरु खानुहोस्

सुनाखरी न्युज/ काठमाडौं ।

महिलाको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो महिनावारी । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। यो शरीरमा भएका रागरसहरू (Hormones)  को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ। जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारीको समयमा पेट दुख्ने, ढाड दुख्ने, पखाला, थकान, टाउको दुख्ने, सूजन, वाकवाकी, बान्ता र मुड स्विङहरू हरेक महिलाले महिनामा एक पटक अनुभव गर्ने केही लक्षणहरू हुन्।

महिनावारीको समयमा हुने यो पीडा युवती तथा महिलाले भोग्नु पर्ने हुन्छ । कतिपयलाई यो समयमा धेरै दुखाइ र मुड स्विङ्को पनि सामना गर्नुपर्ने हुन्छ। त्यसैले आज हामी तपाईलाई घरको भान्छामा पाइने यस्ता पाँच खानेकुराहरु बताउन गइरहेका छौँ । जसले महिनावारीको समयमा हुने दुखाईको समस्याबाट मुक्ति पाउन सहयोग गर्नेछ।

महिनावारीको दुखाइ कम गर्ने खानेकुराहरू

आलस वा चिया सीड – आलसमा ओमेगा–३ फ्याटी एसिडहरूका साथै एन्टी–इन्फ्लेमेटरी गुणहरू हुने गर्दछ। जसले तीव्र अवधिको दुखाइ कम गर्न मद्दत गर्ने गर्दछ। आलसको लगातार सेवन गरेमा महिनावारी चक्रलाई छोट्याउन पनि सकिन्छ । त्यस्तै, चिया सीडमा पनि ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । आलस र चिया सीडलाई ओट्स, स्मूदी र दहीमा मिसाएर वा पौष्टिक सलादका रुपमा खान सकिन्छ । यसले तपाईको महिनावारीमा हुने समस्यालाई टाढा भगाउँछ ।

डार्क चकलेट– महिनावारीको दुखाईमा हुने पिडालाई डार्क चकलेटले पनि कम गर्न मद्दत गर्दछ। यसमा रहेको एन्डोर्फिनले मूड परिवर्तन गर्न मद्दत गर्न सक्छ। यसमा हुने उच्च म्याग्नेसियमले मांसपेशीहरूलाई राहत प्रदान गर्दछ साथै दुखाइ हटाउनका लागि ऊर्जा प्रदान गर्दछ।

अदुवा– अदुवा सबैको भान्साकोठामा सजिलै पाउन सकिन्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी गुणहरू हुने गर्दछ। जसले महिनावारीको समयमा हुने मांसपेशी दुखाईमा कम गर्न सक्छ। एक अध्ययनले वाकवाकी र बान्ता कम गर्न अदुवा उपयोगी भएको पत्ता लगाएको छ ।

बेसार– बेसार, एक लोकप्रिय औषधीय मसला हो । महिनावारी सुरु हुँदा मनतातो दूध संग सेवन गर्न सकिन्छ। यो एस्ट्रोजनको प्राकृतिक स्रोत हो। बेसारले दुखाइ कम गर्छ। त्यसैले यस समयमा बेसार लाभदायक हुन्छ।

क्यामोमाइल चिया– क्यामोमाइल चिया एक उत्तम महिनावारीको दुखाईको उपचार हो । जुन कुनै पनि समयमा लिन सकिन्छ। यसमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–स्पास्मोडिक गुणहरू छन्। जसले पीडादायी महिनावारी दुखाईलाई कम गर्न मद्दत गर्दछ। एक कप क्याफिन–रहित क्यामोमाइल चियाले तपाईंको शरीरलाई थप ग्लाइसिन बनाउन मद्दत गर्दछ। एक रसायन जसले मांसपेशीको ऐंठनलाई आराम दिन्छ।