२०८१ कार्तिक २३ , शुक्रवार

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गरिँदै

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको उनले बताइन् ।

काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक-एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।

 

यसैगरी काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

काठमाडौं-१ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा छन् ।