२०८१ कार्तिक २३ , शुक्रवार

मतगणनाको प्रारम्भिक नतिजाः स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने संकेत

सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट अभिव्यक्त भएजस्तै मत यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने सम्भावना देखिएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने आकलन गरिएको छ ।

मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । यद्यपि मतगणनाको प्रारम्भिक रुझान पनि आउन बाँकी छ । तर, मतदान गरेर फर्किएका मतदाताले दिएको प्रतिक्रियाका आधारमा स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ ।

 

गत ७ असारमा घोषणा गरिएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा एक सय ४० र समानुपातिकमा सबै एक सय १० उम्मेदवार उठाएको छ । तर, प्रदेशसभा निर्वाचनमा भने यो दलले भाग लिएको छैन ।

आइतबार भएको निर्वाचनमा दलका सभापति लामिछानेले नै प्रदेशसभातर्फको मतपत्र प्रयोग नै गरेनन् ।

 

मतदाताको मनोविज्ञानलाई राजनीतिक दलले पनि स्वीकार गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताए ।

मतपरिणाम ‘आठ दिनभित्र’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आठ दिनभित्र आइसक्ने बताएका छन् । मतदान स्थगन भएको ठाउँमा पुनस् मतदान गराएर प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतपरिणाम जतिसक्दो छिटो दिने गरी तयारी गरिएको उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार एउटा क्षेत्रको मतपत्र कम्तीमा चार ठाउँमा गणना हुने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक, प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतपत्र छुट्टाछुट्टै राखेर एकै पटक गणना गरिने भएको छ । आयोगले प्रत्यक्षको मतगणना पहिला र समानुपातिकको पछि गणना गर्ने तयारी गरेको थियो । आइतबार मतपेटिका कब्जा, आगजनी प्रयासका घटना भएपछि आयोग समानुपातिकको पनि एकै पटक गणना गर्ने निर्णयमा पुगेको हो ।

मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको आयोगले जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिका मौसमले साथ दिए नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतकोकार्यालयसम्म ढुवानी गर्ने योजना छ,’ थपलियाले भने ।

एउटा सभाको मतपत्र हाल्ने मतपेटिकामा अर्को सभाको मतपेटिकासमेत हालेको गुनासो आएकाले गणनाका क्रममा सदर मतपत्र भए सम्ब्न्धित सभाको मतपत्रमा समावेश गर्न आयोगले निर्देशन दिएको छ ।