सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताउनुभएको हो । उहाँले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘म आजैबाट, अब नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु । र यसमा तमाम साथीहरुको सबैको स्नेह, माया, यसै गरीकन मसँग रहन्छ । र निर्वाचित भएर आउनुभएका नेपाली काँग्रेसका सांसद साथीहरुले पनि आफ्नो मतदाताले के भनेर पठाउनुभएको छ, त्यो मतदाताको मन के छ रु मतदाताले मत मात्र दिनुभएको छैन, मतदाताले सँगसँगै उहाँले आफ्नो मनको कुरापनि व्यक्त गर्नुभएको छ । त्यो मनको कुरालाई पनि सम्मान गरेर खासगरी नेपाली काँग्रेसको तर्फबाट देशलाई हाँक्नको निम्ति नयाँ नेतृत्वको खोजि भएको कुरालाईसमेत मनन गर्दै सबै साथीहरु नयाँ जोशका साथमा र नयाँ चिन्तनका साथमा संसदभित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’
उहाँले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताउनु भयो । देश हाँक्ने नयाँ चालक नेपाली काँग्रेस पार्टीले मात्रै दिनसक्ने उहाँले बताउनु भयो । त्यसको लागि पार्टीभित्र छलफल शुरु भइसकेको उहाँको भनाई छ । प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उहाँको भनाई छ ।