२०८१ कार्तिक २४ , शनिवार

उद्योगपति चौधरीको पहिलाेपल्ट ‘प्रत्यक्ष’बाट संसद् यात्रा तय

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लाग्नु भएको हो ।

 

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो । विसं २०१२ वैशाख १ गते जन्मनु भएका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहनुभएका उहाँ विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । दल प्रवेश गरेसँगै उहाँ संविधानसभा सदस्य बन्नुभएको थियो । नेकपा एमालेबाट समानुपातिक सभासद बन्नुभएका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहनुभए पनि उहाँले चुनाव लड्नु भएन ।

 

विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो र समानुपातिकतर्फको सांसद बन्नुभयो । यो अवधिमा उहाँले सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गर्नुभयो । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिनु भयो ।‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आउनुभएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढ्नुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा उहाँले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उहाँले बताउँदै आउनुभएको छ ।

 

संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ । उहाँ सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बन्नुभएको थियो । त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उहाँ रहनु भएको थियो । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गर्नुभएको थियो ।

 

व्यवसायलाई विस्तार गर्दै उहाँ एक सफल उद्योगी बन्नुभएको छ । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुनुहुन्छ । फोब्र्सको अर्बपति सूचीमा अहिले उहाँ एक हजार नौ सय २९औँ स्थानमा हुनुहुन्छ । विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहनुभएको छ । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ ।

 

उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उहाँ शास्वत धाम नवलपरासीका संस्थापक पनि हुनुहुन्छ । चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ । उहाँका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् । चौधरी गल्फ र स्क्वास खेलका सौखिन हुनुहुन्छ ।