२०८१ आश्विन ६ , आइतवार

सांगीतिक यात्रामा निस्कँदै नेपथ्य

सुनाखरी न्युज/ काठमाडौं । नेपथ्यले यसै साताबाट सुरु गर्न लागेको राष्ट्रव्यापी सांगीतिक यात्राको तयारी पुरा भएको छ । एक महिना लामो यात्राका लागि कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली समेत तयारी अवस्थामा रहेको छ ।

 

सशस्त्र द्वन्द्वको समय ‘सुन्दर शान्त नेपाल’, ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाएको नेपथ्यको यो यात्रामा नेपालभरिका दर्शक रातो र चन्द्र सूर्यको झण्डा बोक्दै नाचेको हेर्ने रहर छ । देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ सुरु हुन लागेको कार्यक्रम मंसिर १६ गते विराटनगरबाट सुरु हुनेछ । त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटी मण्डपका दर्शकहरु सामु प्रस्तुत हुँदै अभियानको बिट मार्नेछ ।

 

‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवीहरु परिचालित गरिनुका साथै देशभरि नै टिकट बिक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले भने । उनले प्रचार प्रसारका विभिन्न माध्यमहरु प्रयोग गर्नेदेखि अनलाइनबाटै टिकट काट्न सकिनेसम्मका प्रबन्ध मिलाइसकेको जानकारी दिए ।