सुनाखरी न्युज/ काठमाडौं । नेपालमा वर्षेनी ८ लाख बढी शिशु जन्मिन्छन् । जसमा ४ हजार ३ सय अवधि नपुगी जन्मेका शिशुको ५ वर्ष नपुग्दै मृत्यु हुन्छ । गर्भावस्थाको ३७ हप्ता पूरा हुनुअघि जन्मिएका नवशिशुको जन्मलाई अवधि नपुगी जन्मनु वा ‘प्रिटर्स बर्थ’ भनिन्छ । अवधि नपुगी जन्मिएका नवशिशुलाई मायाको अँगालोबाट बचाउन सकिने बालरोग विशेषज्ञहरु बताउँछन्। मायाको अँगालो अथवा आमाको नाङ्गो छातीमा नवशिशुको नाङ्गो छाती टाँसेर स्याहार गर्दा बच्चालाई न्यानो बनाइदिन्छ ।
के हो मायाको अँगालो ?
महिना नपुगी जन्मिएका र जन्मजात तौल कम भएका शिशुको शारीरिक तापक्रम सामान्य राख्न आमा अनि शिशुलाई स्याहारका लागि राख्ने मायाको अँगालो कक्ष हो । मायाको अँगालो विधिमा नवशिशुलाई आमाको नाङ्गो छातीमा शिशुको नाँगो छाती टाँसेर राखिन्छ । यस्तै यो कक्षमा तापक्रमको उपर्युक्त व्यवस्था गरिएको हुन्छ । नवशिशुको अवस्थाअनुसार निफ्टी कपबाट आमाको दूध खुवाइन्छ । नवशिशुको अवस्थाअनुसार जाँच र सरसफाइ गरिन्छ ।
अवधि नपुगी जन्मिएका नवशिशु भविष्यमा पढाई लेखाइमा कमजोर हुने, श्रवण शक्ति र दृष्टिको समस्या आउन सक्ने भएकाले यी जटिलता कम गराउनका लागि मायाको अँगालोले सहयोग गर्ने छ। स्तनपानको सहयोग र सङ्क्रमणको उपचार गरिएमा संक्रमण हुन नदिई मृत्युबाट बचाउन सकिन्छ ।