२०८१ कार्तिक २९ , बिहिवार

थारु समुदायका लागि ६.६ % आरक्षणको पक्षमा जारी अन्तरिम आदेश सर्वोच्चद्वारा रद्द

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशमानसिंह राउत र कुमार चुडालको संयुक्त इजलासले मंसिर ११ गते उक्त अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशको लिखित प्रति भने मंगलबार सार्वजनिक भएको हो ।

 

सर्वोच्च अदालतले थारु कल्याणकारी सभाको केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरीसमेतको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश रद्द गरिपाउँ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले रिट निवेदन दायर गरेका थिए ।

 

अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्नसक्ने संवेदनशील अवस्था र परिस्थितिलाई मध्यनजर गरेर अन्तरिम आदेश खारेज गर्नुपरेको सर्वोच्चको आदेशमा उल्लेख छ । उक्त मुद्दाको टुंगो अन्तिम आदेशमा लाग्ने र त्यसले नै थारु समुदायका व्यक्तिहरूका लागि निजामती सेवामा कति प्रतिशत छुट्याउनुपर्ने हो भन्ने निर्क्यौल गर्ने आदेशमा भनिएको छ ।

 

सरकारले भने थारु समुदायका व्यक्तिले मधेसी तथा आदिवासी/जनजाति दुवै क्लस्टरबाट सहभागिता जनाउन पाउने भएकाले प्रतिनिधित्व सुनिश्चितामा द्विविधा नभएको तर्क गर्दै अन्तरिम आदेश खारेजीको माग गरेको थियो ।