२०८१ मंसिर ९ , आइतवार

एशियाली राष्ट्र जापान स्पेनलाई पराजित गर्दै प्रि क्वाटर फाइनलमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा एशियाली राष्ट्र जापानले स्पेनलाई पराजित गर्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान १२ः४५ मा भएको खेलमा जापानले स्पेनलाई २–१ गोलले पराजित गरेको हो।

जीतसँगै जापानले ६ अंक जोड्दै समूहको विजेता बनेको छ। त्यसैगरी, जापानसँग पराजित भएको स्पेन ४ अंक सहित उपविजेता भएको छ । समूह ई बाट यी दुई राष्ट्र प्रि क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । यसै समूहमा रहेको जर्मनीको पनि ४ अंक नै छ। शुक्रबार बिहान भएको खेलमा कास्टारिकालाई हराउँदै जर्मनीले सो अंक जोडेको छ । जर्मनीले कोस्टारिकालाई ४–२ गोलले पराजित गरेको छ। स्पेनसँग बराबर अंक भएपनि जर्मनी समूहचरणबाट बाहिरिएको छ। यी दुई बीचको गोलअन्तरका कारण स्पेनले अर्को चरणमा प्रवेश पाएको छ भने जर्मनी बाहिरिएको छ। पहिलो खेलमा कोस्टारिकालाई ७ गोलले पराजित गरेको स्पेनको गोलअन्तर ६ छ भने जर्मनीको १ मात्र छ।

समूह एफ बाट भने मोरोक्को र क्रोएशिया अन्तिम १६ मा पुगेका छन्। बिहीबार राति ८ः४५ मा भएको खेलमा मोरोक्कोले क्यानडालाई हराएको थियो भने बेल्जियम र क्रोएशियाले बराबरी खेलेका थिए। क्यानडामाथि २–१ को जीतसँग मोरोक्कोले ७ अंक जोड्दै समूहको विजेता बनेको छ। बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएशिया भने ५ अंक सहित उपविजेता बनेको छ।