२०८१ आश्विन ८ , मंगलबार

साहित्यकार किरण आचार्यको ‘जरत्कारु’विमोचन

सुनाखरी न्युज/ काठमाडौं । साहित्यकार किरण आचार्यद्वारा लिखित ‘जरत्कारु’ उपन्यास नेपालगञ्जमा विमोचन गरिएको छ । शाश्वत फाउन्डेसनले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मीलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको छ।

 

कृतिमाथि समीक्षकद्वय लेकप्रसाद प्याकुरेल र पुष्कर रिजालले समीक्षा गर्नुभएको थियो । प्याकुरेलले कृतिमा रहेका दार्शनिक पक्ष र रिजालले कृतिको कथावस्तुमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्रजङ्ग पिटर, पत्रकार शुक्रऋषि चौलागाईं, कवि नवीन अभिलाषी, सालिक रब्बानीलगायतले कृतिको सफलताको कामना गर्नुभयो । शिखा बुक्स काठमाडौँले प्रकाशित गरेको उपन्यास पौराणिक विषयवस्तुमा आधारित छ । पुस्तकमा बहुविवाहका घातक परिणामबारे चित्रण गर्दै नारीप्रति युगौँदेखि हुँदै आइरहेको दुव्र्यवहार र विभेदको चित्रण गरिएको छ ।

 

नेपाली नारीले वर्तमानमा भोगिरहेको यथार्थ र गर्दै आएका सङ्घर्षलाई प्रतीकात्मक रूपमा सो उपन्यासमा प्रस्तुत गरिएको छ । शाश्वत फाउन्डेसनका संरक्षक जनार्दन आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुई दर्जन साहित्यकारले रचना वाचन गर्नुभएको थियो ।