२०८१ मंसिर ११ , मंगलबार

निमोनियाबाट कसरी जोगाउने बालबालिकालाई

सुनाखरी न्युज/ काठमाडौं । साना बच्चामा देखिएको सामान्य रुघाखोकीलाई हेलचेक्र्याइँ गरेमा निमोनियासम्म हुने जोखिम रहन्छ। बालबालिका र वृद्धवृद्धामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले निमोनिया हुने डर बढी भएको हो।

 

निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो, जुन प्रदूषित श्वासप्रश्वासका कारण हुने गर्छ। निमोनियाले फोक्सो सुन्निनुका साथै श्वासप्रश्वासमा समेत समस्या हुन्छ। वयस्क मानिसलाई रुघाखाकी लाग्नु सामान्य रूपमा लिन सकिन्छ। तर, बालबालिकाको हकमा भने यो घातक बन्न सक्छ। जाडोयाममा बालबालिकाको मृत्यु हुने रोगहरूमध्ये निमोनिया एक मुख्य रोग हो। सामान्यतया रुघाखोकी तीन–चार दिनमै निको हुन्छ। यदि, यो अवधिमा निको भएन भने निमोनियाको अवस्था आउँछ। अत्यधिक ज्वरो आउने, लामो समयसम्म रुघाखोकी लागिरहने भयो भने बच्चालाई निमोनिया भएछ भन्ने बुझ्नुपर्छ। यस्तो वेलामा बच्चाले खान मन गर्दैनन्। कोखा हान्ने भएकाले रुन्छन्। श्वास फेर्न गाह्रो हुन्छ। जसकारण, बिरामीले घ्यारघ्यार गर्ने तथा तेजसँग सास लिने गर्छन्। मुटुको धड्कन तेज हुन्छ, ब्लडप्रेसर कम हुन सक्छ। बच्चालाई बेचैनी हुन्छ।

 

सामान्यतया हात मिलाउँदा, सँगै बस्दा, खोक्दा, भिडभाडमा हिँड्दा रुघाखोकी सर्ने सम्भावना हुन्छ। यस्ता क्रियाकलाप गर्ने वयस्क मानिसको सम्पर्कबाट बच्चामा रुघाखोकी सर्छ। जाडोयाममा पानी कम पर्ने भएकाले बढी प्रदूषण हुन्छ। र, धुलोधुवाँकै कारण रुघाखोकी लाग्ने सम्भावना बढ्छ। यो मौसममा बढी चिसो हुने भएकाले बाहिर ननिस्कने, धेरैजना एकै ठाउँमा जम्मा हुने गरिन्छ। अति गुम्म कोठामा यसरी धेरैजना बस्दा बालबालिकामा रुघाखोकीको संक्रमण सर्न सक्छ।

 

बच्चा रहने ठाउँवरपरको प्रदूषण कम गर्नुपर्छ। त्यसमा आमाले विशेष ध्यान दिन जरुरी हुन्छ।
– बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ। त्यस्तै, भिडभाडबाट समेत बचाउन सके संक्रमणबाट बचाउन सकिन्छ।
– बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ। ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस्। तर, बच्चालाई चिसो नहोस्।
– बच्चाले छिटोछिटो श्वास फेरेमा, लामो समय खोकी लागेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ लानुपर्छ।
– आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ। तसर्थ, ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ। ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिक तत्वहरूसमेत खुवाउनुपर्छ।
– बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म निमोनियाबाट बचाउन सकिन्छ।