२०८१ आश्विन ६ , आइतवार

‘आफ्नै घर छु, तर पर–पर छु’ सार्वजनिक

१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु

प्रकृतिको नियम होला तन दुखेको थियो
समाजको नियमले झन मन दुखेको थियो
प्रकृति र समाजको नियम मानिरहे
केटाकेटी जस्तै थिए केटी मात्रै भए
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’

सुनाखरी न्युज/ काठमाडौं। माथिका शब्दलहर ‘पर–पर छु’ बोलको गीतका हुन् । गायक एवं सर्जक प्रकाश सपूतले यसका शब्दलहर तयार पारेका हुन् । उनैले भाका बनाएका हुन् । त्यसमा तुलसी बोहोराले स्वर दिएकी हुन् ।राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि तयार पारिएको गीत अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसर पारेर हिजो बेलुका सार्वजनिक गरिएको छ ।

 

भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सेबिता अधिकारीले अभिनय गरेका छन् । कथानक तरिकाले यसको भिडियो निर्माण गरिएको छ, प्रकाशकै कथा एवं निर्देशनमा । केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् । केकी र प्रकाशले यसअघि बलात्कारको विषयमा निर्माण गरिएको ‘बदला बरिलै’ बोलको गीतमा सहकार्य गरेका थिए ।