२०८१ आश्विन ८ , मंगलबार

२२ बर्षभन्दा बढी समयदेखि नेपाललाई निरन्तर सहयोग गर्दै आएका सबै नेपालीका बाजे ग्राएम केन्ट

सुनाखरी न्युज/ मेलबर्न । सेताम्ये जुंगा र लामो दारीयुक्त एकजना अस्ट्रेलियनलाई नेपालीले भेट्यो कि त “नमस्ते बाजे” भन्दै अंकमाल गर्छन । उनी पनि नेपालीलाई नाती, नातिनी भन्दै अंकमाल गर्दै टाउकोमा चुमिदिन्छन ।

 

उनी पहेंलो वा गेरु बस्त्र पहिरिने जोगी त होइनन नै र पनि उन्का कामका प्रकृतिका कारण सामान्य भेषमा भेटिने विशुद्ध जोगी नै हुन र नि:स्वार्थ रुपमा उनीसंग भेटघाट गर्ने जो कोहीले पनि आनन्दानुभूति गर्छन । बिगत २२ बर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा नेपालका बिभिन्न भूभागमा बिभिन्न परियोजना मार्फत सहयोग गर्दै आउने सबै नेपालीका साझा बाजे हुन ग्राएम केन्ट । यो समयबधिमा ग्राएमले ७२० भन्दा बढी स्वयं सेवकहरु परिचालन गरी २५८ भन्दा बढी परियोजनाका लागि २ लाख ५८ हजार डलरभन्दा बढी खर्च गरिसकेका छन । यस्का लागि उन्ले नेपालका ६० भन्दा बढी समुदाय र नेपाल र अस्ट्रेलियाका गरी ८७ भन्दा बढी साझेदारी संस्थाहरुको सन्जाल मार्फत काम गरिराखेका छन ।

 

ग्राएम भावी योजना बनाउँछन र साझेदारी ब्यक्ति वा संस्था खोज्छन । “तँ आँट, म पुर्याउँछु” भने जस्तै उन्का योजनालाई पूर्णता दिन सहयोगी हातहरु जुटिराखेका छन । ज्याक रोपर रिजर्भमा आयोजना गरिएको कार्यक्रमबाट प्राप्त रकम पोखराको गुरुङ गाउँको आमा समूहको लागि आबस्यक आधारभूत संरचना निर्माणको लागि जग निर्माण कार्यको लागि उपयोग गरिनेछ । कार्यक्रममा नेपालमा सन्चालन गरिएका बिभिन्न परियोजनाका झलक दर्शाउने गरी फोटो प्रदर्शन गरिएको थियो भने बिभिन्न ब्यक्तिले घरबाट खानाहरु तयार गरी ल्याएका थिए र कार्यक्रमको लागि श्रुति श्रेष्ठ, पुनम कुँवर र सपुनाको बिशेष योगदान गरेका थिए ।

 

ग्राएमलाई २०१३ मा अभियानले Friends of Nepal को रुपमा सम्मान गरेको थियो । नेपाली मात्रै नभएर अस्ट्रेलियन र चिनियाको समेत उपस्थिति रहेको र लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घाताने, दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुली आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा अभियानको तर्फबाट ग्राएमलाई अभियानका प्रभा श्रेष्ठद्धारा खादाद्धारा सम्मान र अभियानको टिशर्ट उपहार प्रदान गरिएको थियो ।