२०८१ कार्तिक ३० , शुक्रवार

आजदेखि सवारी साधनको प्रदूषण परीक्षणमा कडाई

सुनाखरी न्युज/ काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आज शुक्रबारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ।

 

वातावरण विभागका अनुसार शुक्रबारबाट विभागले छड्के जाँच गरी कडा कारबाही गर्न लागेको हो। वायु प्रदुषण नियन्त्रणको उद्देश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो। वातावरण संरक्षण ऐनमा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने र सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ । प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् । बढी प्रदुषण गराउने सवारी साधनलाई पहिलोपटक पाँच हजार र पटक–पटक गरी एक लाखसम्म जरिवाना हुनेछ।

 

छड्के जाँचको क्रममा कैयौँ सवारी साधन प्रदूषण परीक्षणमा फेल भएपछि वातावरण विभागले मंसिर मसान्तभित्र सवारी मर्मत गरेर दुरुस्त राख्न यसअघि नै निर्देशन दिएको थियो । विभागले कारबाहीको चेतावनी दिएसँगै सरकारी, सार्वजनिक र निजी सवारी साधन प्रदुषण जाँचपासका लागि यातायात कार्यालय धाउन थालेका छन् । नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ ।

 

परीक्षण पास नभए रुट इजाजत निलम्बन, सवारी गुडाउन नपाउने, आवश्यक मर्मत–सम्भारपछि पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ ।