२०८१ आश्विन ८ , मंगलबार

नेपाली राइडर नविन गिरी र जर्मन नागरिक इंकाको अस्पतालको बेडमै विवाह

सुनाखरी न्युज/ काठमाडौं । सबै कुरा सामान्य नै चलेको भए नेपाली राइडर नविन गिरी र जर्मन नागरिक इंकाबीच २७ मंसिरमा चन्द्रागिरिमा विवाह हुने थियो । आफन्त र साथीभाइलाई पनि दुवै पक्षले चन्द्रागिरिमा बोलाइसकेका थिए । विवाहका लागि इंकाका बुबाआमा र ठूली आमा जर्मनीबाट काठमाडौं ओर्लिएका थिए । तर, २६ गते राति नविनलाई एक्कासी थाम्नै नसक्ने गरी पेट दुख्यो । राति २ बजे नै धुम्बाराहीस्थित ह्याम्स अस्पाल लैजानुपर्‍यो । नविनका दाजु प्रकाशदेवका अनुसार चिकित्सकले उनलाई एपेन्डिसाइिटस भएको भन्दै ११ बजेभित्रै शल्यक्रिया गरिसक्नुपर्ने बताए ।

 

‘शल्यक्रिया नगरी नहुने भएपछि विवाह रद्ध होला जस्तो भयो, पार्टीहरु पनि क्यान्सिल गर्‍यौं’,। शल्यक्रिया सफल भयो तर, इंकाका बुबाआमासँग धेरै समय थिएन ।‘सार्दा माघसम्म लैजानुपर्ने भयो, बुबाआमाको टिकट १५/२० दिनको मात्रै थियो । भिसाको समस्या हुने भएपछि गुरुबासँग कुरा गर्‍यौं ।’पूर्वनिर्धारित बिहान ८:३४ को साइत नाघिसकेको थियो । ‘गुरुबाले त्यही समयमा राति गर्न मिल्ने बताउनुभयो’, प्रकाशले थपे, ‘एपेण्डिसाइटिसको विरामीलाई दायाँबायाँ गर्न पनि अफ्ठ्यारो हुन्छ, त्यसैले अस्पतालमै विवाह गर्ने निर्णय गर्‍यौं ।’त्यसपछि सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच ह्याम्स अस्पतालको ९१५ नम्बर बेडमा नविन र इंकाबीच विवाह भयो । चिकित्सक र नर्सले पनि दुवैलाई बधाई दिँदै अस्पतालमै विवाह भएको यो सम्भवतः पहिलो घटना हुनसक्ने बताए ।

 

‘भाइबुहारीको बिहे साह्रै रमाइलो र तामझामका साथ गर्ने रहर हुँदा हुँदै पनि स्वास्थ्यले साथ दिएन’, दाइ प्रकाश भन्छन् । अहिले नविनलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ  र, उनको स्वास्थ्य स्थिति राम्रो छ । परिवारिक स्रोतका अनुसार दुईबीच गत वर्ष चैतमा हलेसी राइडमा जाने क्रममा चिनजान भएको थियो ।