सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको अनामनगरमा महानगरको ज्यादतीविरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन्। काठमाडौंको अनामनगर क्षेत्रमा आइतबार निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन्।
निजी निवासअगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमतिविपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए। स्थानीयले महानगरले निजी सम्पत्तिको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध सिर्जना गरेको भन्दै नगरविरुद्ध नाराबाजी गरेका थिए।विरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो। एकजना सर्वसाधारणले महानगर र ट्राफिक प्रहरीबीच समन्वयबिनै जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै विरोध गरेका थिए। उनले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको आरोप लगाए।
उनले भने, ‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ। एक लाइन राख्न पाउँछ भनेर गएको हो। महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाई दुःख दिन मिल्छ? राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस्। महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुन वेला पनि दुःख दिएर हुन्छ! राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने?’स्थानीयले महानगरको गाडी नियन्त्रणमा लिएपछि महानगरले प्रहरी परिचालन गरेर बल प्रयोग गर्दै सवारीसाधन उठाएर लगेको छ।