२०८१ आश्विन ६ , आइतवार

सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो ।

 

मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए । सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख भूमिकामा थिए । बाँकी कलाकार चाँडै फाइनल हुने निर्माता नेपालीले जानकारी दिए । सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म चैतदेखि छायांकनमा जाने तयारीमा छ ।

 

सौगात र दयाहाङको यो सहकार्य ‘कबड्डी ४’ यता लगातार भइरहेको छ । यी दुईका अघिल्ला दुवै फिल्म बक्स अफिसमा हिट सावित भइसकेका छन् ।
‘हात्तीछाप’लाई प्रदीप भारद्वाजले लेखेका हुन् ।