२०८१ कार्तिक ३० , शुक्रवार

सरकार गठनको कसरत तीव्र

सुनाखरी न्युज/ काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले दिएको समय साँघुरिदै जाँदा सत्ता साझेदार दलका नेताहरु सरकार गठनको कसरतमा जुटेका छन् ।

 

यसक्रममा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबीचको भेटघाट तीव्र बनेको छ । सरकार गठन र शक्ति बाँडफाँटका लागि छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भेटवार्ता भएको छ ।

 

संसदीय दलको नेता चयन भएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुग्नुभएको हो । यसअघि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरु लाई प्रतिक्रिया दिनुहुँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शक्ति बाँडफाँडको विषयमा सहमति हुन बाँकी रहेको र गठबन्धनको बैठक बसेर टुङ्गो लगाउने बताउनुभयो ।

 

सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद बाँडफाँटका बिषयमा गठबन्धन आवद्ध तीन दलका नेताहरुबीच छलफल चलाउने बताउनुभएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने संसदका दुइ ठुला राजनितिक दल नेपाली कांङग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

 

राष्ट्रपतिद्वारा पुस १० गतेभित्र सरकार गठनको आव्हान भएबमोजिम दलहरुबीच सत्ता सहकार्यका विषयमा छलफल जारी छ ।