सुनाखरी न्युज/ काठमाडौं । विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा गैँडाकोटका तीन शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेको प्रहरीले जनाएको छ ।
उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको अभिभावकले आरोप लगाएका छन् । त्यहाँका शिक्षक र विद्यालय व्यस्थापन समितिका सदस्यहरूसमेत ४० जना विद्यार्थी पिकनिकमा सहभागी थिए ।
ती शिक्षकले कस्तो दुर्व्यवहार गरेका हुन् भन्नेबारे भने खुलेको छैन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठले विद्यालयमा ती शिक्षकले दर्व्यवहार गरेको जानकारी पाएको आधारमा सुरक्षाका कारण पक्राउ गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको सुनाए । उनले सत्यतथ्य पत्ता लगाउन व्यवस्थापन समितिले समेत छानबिन थालेको जानकारी दिए ।