२०८१ मंसिर ९ , आइतवार

स्पेनका २ पूर्वअन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै

सुनाखरी न्युज/ काठमाडौं । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लबको टोलीसँगै नेपाल आउने भएका छन् ।पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्न डे ला रेडा र सालिनास टिमसँगै मंगलबार नेपाल आइपुग्ने छन् ।

 

क्रिसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडिसकेको छ । ‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ ।

 

स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ । गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ ।