२०८१ कार्तिक ३० , शुक्रवार

प्रधानमन्त्री समक्ष महासंघको औपचारिक भेटवार्ता, अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको पुनरुत्थान नै हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्दै पप्त सुझाव अनुसार काम गर्ने प्रतिवद्धता गरेका हुन् ।

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार बिहाल उनकै निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने समेत बताए ।‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,’– प्रधानमन्त्री दाहालले भने ।

 

प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरीरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास दिलाए । महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सवैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव राखे । यतिखेर अरुकुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएका थिए ।

 

उनले अर्थतन्त्रमा वहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।