२०८१ आश्विन ६ , आइतवार

चर्को दबावपछि राति फिल्म देखाउन हललाई अनुमति , चार दिनअघि सेन्सर सिफारिस लिनुपर्ने

सुनाखरी न्युज / काठमाडौं – चलचित्र विकास बोर्डले एक साताअघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

 

बोर्डमा जाँच सेन्सरका लागि सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ सातदिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो। सोमवार बसेको बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ।  अब कुनै पनि फिल्मले रिलिजको चार दिनअघि सिफारिस लिनुपर्नेछ। यसैगरी, बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्न चाहने हल सञ्चालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ। साथै प्रदर्शनअघि बोर्डलाई जानकारी गराए हुनेसमेत बताइएको छ।

 

चलचित्र क्षेत्रका समस्याको समाधानका सम्बद्ध निकायसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड तत्पर रहेको समेत अध्यक्ष भुवन केसीले बताएका छन् । फिल्म सेन्सर र रात्रिकालीन शोका कुरालाई लिएर चलचित्र संघले आन्दोलन घोषणा गरेको छ । यो सन्दर्भमा बोर्डको बैठकले संघको माग पूरा गर्नेतर्फ महत्वपूर्ण निर्णय लिएको हो ।