२०८१ मंसिर १३ , बिहिवार

आज स्व.राजा वीरेन्द्रको जन्मजयन्ती

सुनाखरी न्युज/ काठमाडौं । तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औं जन्मजयन्ती बिहीबार उनको सम्झना गरी मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४ मा भएको थियो ।

 

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदैछ । वि.सं. २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

 

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।

 

उक्त हत्याकाण्डको यथार्थ भने अझै पत्ता लाग्न सकेको छैन् । उक्त हत्याकाण्डलाई नेपाली ईतिहासको सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ ।