सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालयलाई पत्र लेख्दै बागमती नदी खण्डको थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन सहयोग र समन्वयका लागि आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षर गर्नुभएको पत्रमा अनधिकृत संरचना हटाएर तत्काल सौन्दर्यीकरणको काम अगाडि बढाउने कुरा उल्लेख छ । थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन पटक पटक प्रयास गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट अनुरोध भएपछि महानगरले यसप्रकारको प्रयास गरेको हो । अहिलेसम्म संरचना हटाउने काम सफल हुन हुन सकेको अवस्था छैन ।
पत्रमा भनिएको छ, ‘यस कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन समन्वय हुन अनुरोध गरिन्छ ।’