२०८१ मंसिर ११ , मंगलबार

नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु

सुनाखरी न्युज/ काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । स्थापनाको ३० वर्षपछि नर्भिकले यो सेवा सुरु गरेको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सेवा सुरु भएपछि हालसम्म २ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिए । मिर्गौला फेल भइ उपचार गराइरहेका ६६ वर्षीय पुरुषलाई उनकी ५५ वर्षीया श्रीमतीले दान गरेकी हुन् भने ५४ वर्षीय पुरुषलाई उनकी ३० वर्षीया छोरीले मिर्गौला दान गरेकी छन् । मिर्गौला प्रत्यारोपण सेवामा नर्भिक अस्पतालका चिकित्सकद्वय डा. राकेश वर्मा र डा. आर के अग्रवाल नेतृत्वको टिम रहेको छ ।

 

प्रमुख कार्यकारी अधिकृत मिश्र भन्छन्–‘हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि गर्ने भएको छ । हामीले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको छौँ।’ उनले नर्भिक मल्टिस्पेसालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि रहेको र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएकाले नर्भिकमा यो सेवाले विशेष महत्त्व राख्ने बताए ।