सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभाको ठूलो दल भएर पनि पार्टी प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निभाउने बताएका छन् ।
उनले चुनावको जनादेश कांग्रेस नेतृत्वको गठबन्धनले सरकार चलाउनू भन्ने भए पनि फरक परिस्थिति बन्दा कांग्रेस केन्द्र र सातै प्रदेशमा प्रतिपक्षमा पुगेको बताए । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले कांग्रेससँग रचनात्मक प्रतिपक्षको भूमिका निभाउने र अर्को निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको बताए । ‘यो निर्वाचनले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सरकार चलाऊ भन्ने जनादेश दिएको हो । तर, त्यो गठबन्धन नै नभइसकेपछि जनादेश पनि खण्डित भइसक्यो । अहिले अर्को खालको नयाँ राजनीतिक परिस्थिति बनेको छ, हामीसँग यसलाई स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने, ‘हामी केन्द्र र प्रदेशमा पनि प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेका छौं ।
अब हामीले रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने हो, त्योभन्दा दायाँबायाँ सोच्ने कुरा छैन, सोच्नु पनि हुँदैन ।’ उनले सरकारलाई काम गर्ने समय दिनुपर्ने बताए । ‘हामीले अहिले केही समय पर्खिने र हेर्ने हो, सरकारलाई अब्जर्भ गर्ने हो, त्यसपछि सरकारका काममाथि खबरदारी गर्ने काम हुन्छ,’ उनले भने, ‘त्यसबाहेक हाम्रो नेतृत्वमा थुप्रै स्थानीय सरकारहरू छन्, हामीले त्यहाँ कांग्रेसको सरकार भएको भए कसरी काम गर्थ्यो भनेर देखिने गरी काम गर्ने हो ।’ महामन्त्री थापाले चुनावअघि नै बनेको गठबन्धनलाई एउटै दल हो भने जसरी सोच बनाउँदा पार्टीलाई ठूलो क्षति भएको बताए । ‘यो गठबन्धन भनेको एउटै दल नै हो । यो चाहिँ ५० वर्षसम्म चल्छ भनेर सोच्न थालियो, पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिइयो, यदि कसैले गठबन्धनमा प्रश्न उठाउँछ भने उसलाई गलत सावित गर्ने अभ्यास पनि भयो,’ उनले भने, ‘अहिले जे परिणाम आएको छ, यो त्यसको फल हो ।’
उनले गठबन्धनको निर्णय प्रक्रियामा सामेल नेताहरूले गठबन्धनको सफलता र असफलताबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए । पार्टीमा महामन्त्रीहरूले हस्तक्षेपकारी भूमिका निभाउन नचाहेको भन्ने आरोपको खण्डन गर्दै महामन्त्री थापाले गठबन्धनको छलफलमा सहभागी नेताहरूले गठबन्धन असफलताको जस/अपजस पाउने बताए । ‘म पार्टीको महामन्त्री हुँ, म सभापतिजीसँग संसदीय दलको नेतामा चुनाव पनि लडेँ । जति बेला गठबन्धनको सरकार गठनको प्रक्रिया चलिरहेको थियो, मैले पार्टी सभापतिलाई फोन गरें, मैले थाहा पाएको कुरा जानकारी गराएँ, मैले मेरो भूमिका मागें, उहाँले केही पर्यो भने फोन गर्छु भनिसकेपछि म पर्खिएर बसेको हुँ,’ उनले भने, ‘उहाँले काम पर्यो भने भन्छु भनेको मतलब मेरो आवश्यकता परेको छैन भन्ने हो । उहाँलाई मेरो आवश्यकता परेन, फोन पनि आएन, गठबन्धन नै टुट्यो ।’ उनले चुनावको परिणामको समीक्षा र गठबन्धनको औचित्यमाथि आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने बताए ।