सुनाखरी न्युज/ काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने शालीनदी मेला शुक्रबारदेखि सुरु हुँदैछ। कोरोना भाइरसका कारण विगतका केही वर्षमा प्रभावित भएकाे शालीनदी मेला यसवर्ष भने उत्साहपूर्ण रहने देखिन्छ।
यसवर्ष शालीनदी स्नान र मेला हेर्न पुग्ने भक्तालु विगतका भन्दा बढी हुने देखिएकाे हाे। यसवर्ष शालीनदीमा स्नान गर्न आउनका लागि हालसम्म १२० जना भक्तजनले नाम टिपाएकाे माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका एलपी श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार यहाँ पूजा गर्न तथा मेला हेर्न आउने भक्तजन र त्यसकाे व्यवस्थापनका लागि सबै प्रबन्ध भइसकेकाे छ।
माधवनारायण स्वस्थानी व्रत बस्नेले बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गर्छन्। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।