२०८१ आश्विन ६ , आइतवार

‘सक्किगो नि’ टेलिसिरियल प्रसारण रोकियो

सुनाखरी न्युज / काठमाडौं  – हास्य शृंखला ‘सक्किगो नि’ हिमालय टिभीबाट प्रसारण रोकिएको छ । हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए । ‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको छ । यतिबेला हामी अलमलमा छौं । साथीहरुसँग बसेर छलफल गर्छौं र कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्छौं ।’ केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको पाँडेले जानकारी दिए ।

 

२०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए । ‘कन्टेन्ट बनाउँदा कहिले हाइ र कहिले लो भइहाल्छ । यद्यपि युट्युबमा पनि हाम्रो प्रत्येक एपिसोडको भ्युज २५ लाख हुन्थ्यो । विश्वकप फुटबलको समयमा पनि हामीले राम्रो लोकप्रियता हासिल गरेका थियौं,’ पाँडेले भने, ‘हामीले सय भाग पूरा गर्नु पनि टेलिभिजनको लागि उपलब्धिकै कुरा हो ।’

 

कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेको यो सिरियलले गत साता सोलुखुम्बुको पतालेमा पुगेर १०० औं भागको खुसी साटेको थियो । हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ ।