सुनाखरी न्युज/ मकवानपुर । अमेरिकी डलर देखाएर ठगी गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई सार्वजनिक गरिएको हो ।
उनीहरूलाई प्रहरीले बुधबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवस डुम्जन, बाह्रविसे–४ का २८ वर्षीय शेरबहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिकाका २८ वर्षीय देवा डुम्जन रहेका छन् । विशेष सूचनाको आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरू भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो ।
ठगीमा संलग्न एक जना भने फरार रहेको मकवानपुरका प्रहरी प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाँ, कागजको नक्कली नोट ८ बन्डल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ । पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।