२०८१ पुष १० , बुधवार

थारु जातिको तीन दिने माघी खिचडी महोत्सव हुँदै

सुनाखरी न्युज/ काठमाडौं । थारु परम्परा र संस्कृतिको विकास गर्न भन्दै रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी एवम् खिचडी महोत्सव हुने भएको छ । थारु जातिको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते थारु कल्याणकारीणी सभा सैनामैनाले महोत्सव आयोजना गरेको हो ।

 

महोत्सवमा परम्परागत थारू खानाका परिकार सांस्कृतिक कार्यक्रमसँगै सामाजिक र राजनीतिक चेतनाका कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारीणी सभा सैनामैनाका सल्लाहकार खुशीराम चौधरीले बताए । महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेतना र नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा छ । तीन दिने कार्यक्रम अन्तर्गत यही पुस २८ गते रक्तदान कार्यक्रमको आयोजना गरी महोत्सवको सुरुवात हुने सैनामैना नगर कार्यसमितिका सभापति दुलबहादुर थारुले जानकारी दिए ।

 

२९ गते थारु साहित्य वाचन, तथा विविध खेलकुद प्रतियोगित र थारु लोक नृत्य प्रदर्शन गरिने छ । पुस ३० गते मूल समारोहको आयोजना गर्दै थारु झाँकी, जनचेतनामूलक र्‍याली, स्थानीय लोक नृत्यसँगै थारु खानाका परिकारहरु महोत्सवमा राखिने छ । माघीको अवसरमा थारु समुदायका घरघरमा खिचडी, माछाका परिकार, घोगी, अनदीको भुजा, ढिकरी लगायतका परम्परागत खाना पकाउने खाने गरेर रमाइलो गर्ने गर्दछन् ।