सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए। ‘केपी ओलीले सोमबार संसदमा दिएको अभिव्यक्तिलाई काउन्टर एट्याक गर्दै प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ,’ ती नेताले भने।
कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा २६९ सांसदको समर्थन पाउने भएका छन् । कांग्रेसको ८८ र सत्तारुढ गठबन्धनमा एमालेको ७९ (किरण साहसमेत), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १३ ( ज्येष्ठ सदस्य सदस्य पशुपति शमशेर जबरा बैठकको अध्यक्ष), जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ८ र नागरिक उन्मुक्ति पार्टी ४ (लालवीर चौधरीसहित) मत रहेको छ । तीन जना स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि पक्षमा मत दिने बताएका छन् ।
हालसम्म विपक्षमा एक-एक सिट रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै देखिएका छन् । विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए।