२०८१ मंसिर १ , शनिवार

गुण र दोष केलाएर विपक्षीको भूमिका निर्वाह गर्छौं : देउवा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताएका छन् ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सभापति देउवाले संसद्मा कांग्रेसले आफू प्रतिपक्षी दलको रुपमा रहने निर्णय गरेको सुनाउँदै विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताए ।‘हामी पुष्पकमल दाहालजीको नेतृत्वको सरकारमा सहभागी हुँदैनौँ । र प्रतिपक्ष दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ, तर प्रतिपक्षी भएर विरोधका लागि विरोध मात्रै होइन, हामी सरकारका काम कारवाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ ।’

 

सभापति देउवाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामीले मिश्रित निर्वाचनको अभ्यास गरिरहेका छौँ । यसले नेपालको सबै जातजाति, भूगोल र समुदायको प्रतिनिधित्वको अवस्था बनेको छ । आज यो गौरवमय संसद् नेपालको ऐना बनेको छ । यो निर्वाचन प्रणालीले एउटामात्रै दलको बहुमत हुने अवस्था हुदैन, त्यसैले हामीले गठबन्धन संस्कृतिलाई आमन्त्रण गर्नु, र अभ्यस्त हुनुको विकल्प छैन,’ देउवाले भनेका छन् ।