२०८१ आश्विन ६ , आइतवार

स्वस्तिमा, सुरक्षा वा वर्षा, मध्ये को बन्लान् ‘भष्मे डन’मा नायिका

 

सुनाखरी न्युज / काठमाडौं – निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्म निर्माणको तयारीमा छन्। उनी आफ्नो हिट फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ निर्माणको तयारीमा लागेका हुन्। फिल्म फागुन १२ गतेदेखि छायांकन गर्ने तयारी छ। ‘पशुपति प्रसाद’को क्यारेक्टर ‘भष्मे डन’ नामको फिल्ममा विपिन कार्की शीर्ष भूमिकामा देखिने छन्। उनीसँगै सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे फिल्ममा जोडिइसकेका छन्।

 

फिल्मको लिड फिमेलका लागि तीन अभिनेत्रीको नाम चर्चामा छ, जसमा स्वस्तिमा खड्का, सुरक्षा पन्त र वर्षा सिवाकोटी छन । यी तीनैजना अभिनेत्रीसँग निर्देशक खनालले अघिल्ला फिल्ममा सहकार्य गरिसकेका छन जसले गर्दा पनि यी तीन जना रोजाइमा पर्नु स्वभाविक हो । लिड एक्ट्रेसमा दीपेन्द्रले यी तीनमध्ये कुनै एकलाई छनोट गर्लान वा नयाँ हिरोइनको आगमन हुनेछ ? यो थाहा पाउन कम्तीमा चार–पाँच दिन प्रतीक्षा गर्नुपर्ने निर्देशक खनालको भनाइ छ ।

 

सिवाकोटीले ‘पशुपति प्रसाद’मा अभिनय गरिसकेकी छन भने खड्काले दीपेन्द्रको पछिल्लो फिल्म ‘चिसो मान्छे’ र पन्तले ‘आमा’मा अभिनय गरेका छन् । सम्भवतः यी तीनमध्ये कुनै एक जना लिड हिरोइनमा तय हुने वा नभए नयाँलाई डेब्यु गराउने संकेत खनालले गरे । ‘भष्मे डन’को निर्माणमा दीपेन्द्र र खगेन्द्र लामिछानेबीच सहकार्य हुँदैछ । फिल्मको पटकथा पनि लामिछानेले लेखेका छन् । ‘भष्मे डन’ले पशुपति प्रसादको चर्चित पात्रको उक्त फिल्म रिलिज भएयताको संघर्ष र यात्राको कथा पेस गर्नेछ ।