सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीको पक्षमा २६८ परेको छ भने विपक्षमा २ जनाले मतदान गरेका छन् । मतदानमा २७० उपस्थित भएका थिए । प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमत लगायतका दलले मत दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ११ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दाहाललाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । दाहाल यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो ।