सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दावी प्रस्तुत गर्नुभएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
गिरि लुम्बिनी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र दोश्रो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ । सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको थियो ।
सत्ता साझेदार दलहरुले सात दलको समर्थमान ५८ सांसदको हस्ताक्षर सहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका थिए ।