२०८१ आश्विन ६ , आइतवार

अमेरिकामा ‘आरआरआर’ ले जित्यो उत्कृष्ट फिल्म अवार्ड

सुनाखरी न्युज/ काठमाडौं । हालै एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो। अब यसै फिल्मले २८ औं क्रिटिक्स च्वाइस अवार्ड जितेको छ। ‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो। फिल्ममा समावेश ‘नाटु नाटु’ ले उत्कृष्ट गीतकाे अवार्ड जितेकाे हाे।

 

गोल्डेन ग्लोबपछि ‘आरआरआर’ को यो अर्को उपलब्धी हो। क्रिटिक्स च्वाइस अवार्डले आफ्नाे ट्विटर अकाउन्टमा निर्देशक राजामाैलीकाे भिडिओ सेयर गर्दै उक्त जानकारी दिएकाे छ। उत्कृष्ट विदेशी भाषी फिल्ममा ‘आरआरआर’ सँगै ‘अर्जेन्टिना १९८५’, ‘बार्डो, डिसिजन टु लिभ र अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ जस्ता फिल्मले प्रतिपर्धा गरेका थिए। निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरण, जुनियर एनटिआर र आलिया भट्ट प्रमुख भूमिकामा छन्। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्।

 

तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित ‘आरआरआर’ लाई दर्शकले अत्यधिक मन पराएका छन्। ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो। फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिशविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिश राजमा सिपाहीकसरी एकअर्काको साथी बन्छन् र ब्रिटिशविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।