२०८१ आश्विन ६ , आइतवार

चलचित्र ‘सरी मम’ आजबाट प्रदर्शनमा

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आएको छ । लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरुमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

 

नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

 

चलचित्रले दर्शकलाई लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ । चलचित्र हेर्ने जाने दर्शकलाई चलचित्रको निर्माण टिमले विशेष अफरहरुसमेत दिएको हो । यो अफर माघ महिनाभरलाई लागू हुनेछ । दर्शकले दुइवटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको छ । अर्का अफर चाहिँ चलचित्रको टिकटमा बसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।

 

यस्तै, निर्माण टिमले आफ्नो आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक्स पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार प्रदान गर्ने भएको छ ।