२०८१ आश्विन ६ , आइतवार

नेपालका हलमा ‘पठान’को नयाँ रेकर्ड कायम

सुनाखारी न्युज / काठमाडौं –  हिन्दी कथानक चलचित्र ‘पठान’ले नेपालमा रिलिज अगावै नयाँ रेकर्ड कायम गरेको छ । शाहरुख खानको कमब्याक मुभीका रूपमा हेरिएको यो चलचित्रले नेपालको इतिहासमै सबैभन्दा धेरै शो पाएको छ । चलचित्र भोलिबाट प्रदर्शनमा आउनेछ ।

यो सिनेमाले क्यूएफएक्समा मात्रै मंगलबार मध्याह्न १२ बजेसम्म क्यूएफएक्स १०६ शो पाएको छ । वान सिनेमा २५, एफक्यूब १६ शो पाएको चलचित्रले अल नेपाल मल्टिप्लेक्समा २४२ शो पाएको छ । यसअघि ‘कबड्डी–४’ले २१३ शो पाएको थियो । ‘कबड्डी–४’ले बनाएको रेकर्डलाई उछिन्दै ‘पठान’ले २४२ शो पाएको हो ।

 

पठान’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि नयाँ रेकर्ड बनाएको छ । १०६ शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ च्याप्टर–२’ले सुरुआती शो ९३ पाएको थियो । प्रतिस्पर्धा गर्ने अन्य चलचित्र नहुँदा पनि ‘पठान’लाई फाइदा पुगेको छ । शाहरुखको बहुप्रतिक्षित चलचित्र ‘पठान’ले नेपाली हलमा रिलिज अगाडि नै शो को रेकर्ड कायम गर्दा बक्स अफिस कलेक्सनमा पनि रेकर्ड बनाउने धेरैको अनुमान छ ।

 

मल्टिप्लेक्समा अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । थुप्रै शो फिलिङ फाष्टमा गएका छन् । फिलिङ फाष्टमा नगएका शोमा पनि राम्रो बुकिङ देखिएको छ । काठमाडौं बाहिरका मल्टिप्लेक्समा पनि शो सँगै बुकिङ राम्रो देखिएको छ । शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिन लागेका हुन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । चलचित्रमा सलमान खानलाई पनि केमियो भूमिकामा देख्न सकिनेछ ।