२०८१ आश्विन ६ , आइतवार

नेपालमा ‘पठान’को ओपनिङ, पहिलो दिनमै कमायो २ करोड

सुनाखरी न्युज / काठमाडौं  –  शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको छ ।

 

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ले आक्रामक व्यापार गरेको छ। हिजोदेखि प्रदर्शन भएको यस फिल्मले दर्शक र समीक्षकबाट पनि सकरात्मक प्रतिक्रिया पाइरहेको छ। प्रदर्शनको पहिलो दिन यस फिल्मले भारतभरि ५४ करोड भारतीय रुपैयाँ बढीको व्यापार गरेको छ।त्यसैगरी, भारतभरको ग्रस कलेक्सन भने ६२ करोड भारु रहेको छ। योसँगै ‘पठान’ शाहरुखको बक्स अफिसमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ। यसअघि खानको ‘ह्याप्पी न्यू इयर’ ले ४४।९७ करोडको व्यापार गरेको थियो।

 

योसँगै पठानले ‘ठग्स अफ हिन्दुस्तान’को रेकर्ड तोडेको छ। यस फिल्मले पहिलो दिन ५२।२५ करोडको व्यापार गरेको थियो। योसँगै यसले ‘बाहुबली २’ को हिन्दी कमाईलाई पनि पछाडि पारेको छ। साथै, बुधवार र बिहीवार गरी फिल्मले एक सय करोड आकंडा पार गर्ने अनुमान लगाइएको छ।भारतमा मात्रै होइन नेपालमा पनि यस फिल्मले बम्पर ओपनिङ गरेको छ। यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो। नेपालका १५० हलबाट रिलिज भएको यस फिल्मले उत्साहजनक शो पाएको थियो। नेपालभरि पहिलो दिनमा फिल्मले २ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए।