२०८१ मंसिर १३ , बिहिवार

गोंगबु बसपार्कको घटना छानबिन होस् : कांग्रेस

सुनाखरी न्युज / काठमाडौं । नेपाली कांग्रेसले गोंगबु बसपार्कमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले संसद्‌मा विशेष समय लिएर गोंगबुमा भएको मोबाइल पसल लुटपाट लगायत विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेको हो ।

 

कांग्रेसका केन्द्रीय प्रवक्तासमेत रहेका सांसद प्रकाशशरण महतले बुधबारको प्रतिनिधिसभा बैठकमा नयाँ बसपार्कमा भएको घटनाले गम्भीर बनाएको बताए । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिएको अवस्थामा भएको उक्त घटनाको छानबिन गर्न महतले माग गरे । ‘नयाँ बसपार्कमा जुन किसिमको घटना घट्यो त्यसले हामी सबैलाई अत्यन्त गम्भीर बनाएको छ । प्रधानमन्त्री स्वयं सुरक्षा र गृहप्रशानसको नेतृत्वमा हुनुहुन्छ ।

 

 

साना व्यवसाय गरेर बसेका मोबाइल पसलहरूमा दिनदहाडै लुटपाट मच्चिएको छ,’ उनले भने, ‘यातायात मजदुरका जायज समस्याहरूको समाधान हुनुपर्छ । बसपार्क व्यवस्थित हुनुपर्छ । मिनिबस व्यवसायीहरूले नियमअनुसार पार्किङ सुविधाको प्रयोग गर्न पाउनुपर्छ । तर, मजदुरको नाउँमा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ? किन त्यस्तो भएको छ ? भीडीयो फुटेज आउँदा पनि कुनै कारबाही हुँदैन ।’ काठमाडौंको मुटुमा रहेको बसपार्कमा नै त्यस्तो घटना हुँदा शान्ति सुरक्षामाथि प्रश्न उठेको महतको भनाइ थियो । उनले काठमाडौंमा नै शान्ति सुरक्षा दिन नसक्ने सरकारले दूरदराजमा शान्ति सुरक्षाको अवस्था के होला भनेर प्रश्न गरेका छन् ।