सुनाखरी न्युज/ काठमाडौं । हित्रोस्थित स्ट्यानवेलमा एक नेपालीको घरमा ठूलो मात्रामा सुनको गरगहना चोरी भएको छ। गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।
घरमा १३ बर्षिय बालक मात्र भएको मौका छोपेर चोरले नाटकीय रुपमा दाराज फोडी गरगहना लगेको गुरुङले बताए। उनले भने, ‘सधैँ आमा घरमै हुनुहुन्थ्यो, घट्नाको दिन एकैछिन बाहिर लिएर गएको थिएँ। छोरा एक्लै थियो, त्यही मौकामा चोर घरमा पसेछ।’ आमा घरमै बस्ने भएकाले सुन सुरक्षित हुने विश्वास गरेर गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएकी थिइन्।
गुरुङले दिएको जानकारी अनुसार आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको छ। चोरी भएलगत्तै घट्नास्थलको निरीक्षण गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। चोरले घर अगाडिको ढोका आफैँ खोलेर भित्र छिरी सामान बोकेर पछाडिबाट भागेको अनुमान गरिएको छ। ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचलाउन भन्दै बन्दी बनाएको थियो। चोरले गरगहना चोरी गर्नुका साथै दराज र कुर्सी समेत तोडफोड गरेका छन्।