२०८१ मंसिर ११ , मंगलबार

कस्ता हुन्छन पिसाब संक्रमणका लक्षणहरु ?

सुनाखरी न्युज/ काठमाडौं । मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो । यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुने गर्छ । अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ ।

 

पिसाबको संक्रमण भएको अवस्थामा लक्षण देखिन पनि सक्छ नदेखिन पनि सक्छ । सामान्यतया पिसाबको संक्रमण हुँदा तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, पिसाब फेरेपछि फेरि जान मन लाग्ने, छोटो छोटो समयमा पिसाब फेर्नुपर्ने तर पिसाब फेर्दा थोपा थोपा मात्र आउने हुनसक्छ । कहिलेकाहीँ पिसाबमा रगत देखा पर्ने, राति तीन चार पटक पिसाब गर्न मन लाग्ने लक्षण देखियो भने पिसाबको संक्रमण भयो भनेर शंका गर्नुपर्छ ।

यसका लागि सबैभन्दा पहिला सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पिसाब धेरै समयसम्म रोक्नु हुँदैन । डेढ दुई घण्टाको फरकमा पिसाब फेर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । तर, त्यसो भन्दैमा एकैपटक धेरै पानी पिउनु पनि हुँदैन । ५, ६ लिटर पानी एकैपटक पिउँदा मिर्गौलालाई भार पर्छ र झनै असर गर्न सक्छ । पटक पटक गरेर एक दिनमा तीन लिटर पानी पिउने गर्नाले सङ्क्रमणबाट बच्न सकिन्छ । आफूले प्रयोग गर्ने शौचालय सधैँ सफा राख्ने, महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्ने, पिसाबमा केही समस्या हुनेबित्तिकै अस्पताल जाँदा पनि पिसाबको सङ्क्रमणबाट जोगिन सकिन्छ