२०८१ मंसिर ९ , आइतवार

आईसीसी यू–१९ एसिया विश्वकप: नेपाललाई हङकङको सामान्य लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ ।

 

नेपालले विजय हात पारेमा लगातार तेस्रो विजय हात पार्नेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो । ६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६।३ ओभरमा १ सय २० रनमै अलआउट भयो । यूएईको अजमानमा भइरहेको प्रतियोगितामा हङकङबाट पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेली ४ चौका प्रहार गरे । एलियन जाहिरले ६७ बलमा ३ चौकासहित २९ रन बनाए । कप्तान अहान त्रिवेदीले ११ रन बनाए ।

 

मालेक क्रिकेट मैदानमा नेपालबाट हेमन्त धामीले ३ विकेट लिए । सुवास भण्डारीले १० ओभरमा ३ मेडन राखेर १० रनमात्र खर्चेर २ विकेट लिए । आकाश चन्दले ८।३ ओभरमा ४३ रन खर्चेर २ र दीपेश कँडेलले १ विकेट लिए । दीपेशले १० ओभरमा ३ मेडन राख्दै १७ रन खर्चे । नेपालले हङकङका दुई खेलाडीलाई रनआउट गरेका थिए ।